गण्डकीमा विनाविभागीय मन्त्रीले सम्हाले मन्त्रालय

गण्डकीका विनाविभागीय दुई मन्त्रीले आइतबारदेखि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै जेठ २९ मा चार जनाले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए ।

शपथ लिनेमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे हुन् ।

कांग्रेसका खड्काले सामाजिक विकास र माओवादीकी अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेको भए पनि सहमति अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट नभएको भन्दै करिब एक महिनासम्म जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङे विनाविभागीय बसेका थिए । सहमतिलाई कार्यान्वयन गर्ने पुनः सहमति भएपछि मन्त्रालयको जिम्मेवारी सम्हालेको मन्त्री आचार्यले बताए । आचार्यले उर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

जसपाले अर्थ र मनाङेले भौतिक मन्त्रालयमा दाबी गरेपछि सरकारमा विवाद उत्पन्न भएको थियो । मुख्यमन्त्रीले अर्थसहित दुई मन्त्रालय जसपालाई दिने लिखित सहमति गरेपछि जसपाले सो कुरामै अडान लिएको थियो ।

कांग्रेसका नेपाली स्वतन्त्र सांसदसहित माओवादी, जसपा र राजमोको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।