आमचोक गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास

आमचोक । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ ।

बिहिबार गाउँपालिकाका अध्यक्ष अशोक राईले आमचोक ४ बालंखामा गाउँपालिकाको प्रशासकीय भवनको विधिवत शिलान्यास गरेका हुन् ।

उक्त प्रशासकीय भवन निर्माणका लागि धनुषाको महतो इमोरियल चेतन जे भि कम्पनीसँग ८ करोड ५४ लाख ७ सय ६० रुपैया ४० पैसामा २ वर्ष भित्रमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गरी ठेक्का सम्झौता भएको गाउँपालिकाका राजश्व शाखा प्रमुख केशर श्रेष्ठले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अशोक राईले गाउँपालिका बनेको ७ वर्ष भइसक्दा पनि आमचोकले पालिकाका जनताको पहिलो आवश्यकतामा केन्द्रित भएकाले भवन निर्माणलाई बिगतमा प्राथमिकतामा नराखिएको बताए । उनले पालिकाभित्र नागरिकका तत्कालीन प्राथमिकताका काम सम्पन्न गरिएकाले जनतालाई चुस्त दुरुस्त सेवा प्रवाह गर्न प्रशासकीय भवनको अव आवश्यकता परेकाले यसको निर्माणमा जुटेको बताए । सम्झौता भई शिलान्यास गरिएको उक्त भवन निर्माणका क्रममा प्राविधिक स्टमेट अनुसार जसरी हुनुपर्ने हो त्यसरी नै निर्माण हुने बताउँदै गुणस्तरियतामा कुनै पनि कमि नहुने स्पष्ट पारे ।

उक्त शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता राई, प्रमुख प्रशासकीय अधिकृत धन कुमार राई, वडा अध्यक्षहरु, वडा सदस्य तथा कर्मचारीहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।