नीति तथा कार्यक्रमले सुशासन, समृद्धि हासिल गर्ने उद्देश्य लिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ ।

मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएको पनि बताउनु भयो ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्नुभयाे । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसङ्गत नहुने जिकिर गर्नुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको उहाँकाे दाबी छ ।

उहाँले भन्नुभयो, ‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको छ । यसमा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएका छन् । यसमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसङ्गत हुँदैन । किनभने यो नीति तथा कार्यक्रममा थुप्रै नयाँ कार्यक्रम पनि छन् ।’ 

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरूको सन्तुलन मिलेको दाबी गर्नुभयो ।