राष्ट्रपति पौडेलले भारतीय समकक्षी मुर्मूलाई दिए नेपाल भ्रमणको निम्तो

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूले टेलिफोन संवाद मार्फत् बधाई दिएकी छन् । शुक्रबार भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गर्दै पौडेललाई बधाई दिएको राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

चालिसेका अनुसार संवादको क्रममा राष्ट्रपति पौडेलले मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । साथै पौडेलले पशुपतिनाथ दर्शनका लागि मुर्मूलाई निमन्त्रणा दिएको चालिसेले बताए ।

भारतको केरला राज्यको भ्रमणमा रहेकी मुर्मूले राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा पौडेललाई शुक्रबार बधाई दिएकी हुन् । भारतको राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार संवादका क्रममा राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरेकी थिइन् ।

‘दुवै राष्ट्रपतिहरुले नेपाल र भारतबीचको विशिष्ट र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरे ।’