इनरुवा । इनरुवा नगरपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को प्रथम र दोस्रो चौमासिक योजनाहरुको बारेमा नगरवाशीहरुका बिच सार्वजनिक सुनुवाइ गरेको हो ।

साझेदारी नेपालले सहजीकरण गरेको कार्यक्रममा नगरवाशीहरुले योजना कार्यान्वयनका सवालमा भएका कमि कमजोरी माथि सरोकारवालाहरुको जबाफ मागेका थिए ।
गत स्थानीय निर्वाचन मार्फत् चुनिएर आएका जनप्रतिनिधिहरुले गरेका काममा नगरवाशीहरुले सकृयतापूर्वक चासो राखेका थिए । कार्यक्रममा स्थानीय नगरवाशीहरुले नव निर्वाचित जनप्रतिनिधिहरुले जनताले चाहे जस्तो काम गर्न नसकेको भन्दै आक्रोश पोखे । स्थानीयहरुले चालू बजेटमा नगरले वडाहरुलाई काम गर्न सक्ने खालको बजेट विनियोजन नगरि नगरमै बजेट केन्द्रित गर्दा काम हुन नसकेको तर्फ नगर प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।

नगर प्रमुख केदार भण्डारी सहित सरोकारवालाहरुले नगरवाशीहरुका प्रश्नको जबाफ दिएका थिए । साथै नगर प्रमुख भण्डारीले स्थानीयहरुबाट आएका गुनासो र सुझावलाई आत्मसाथ गर्दै आगामी बजेट निर्माण गर्दा ध्यान दिने प्रतिवद्धता जाहेर गरे ।
इनरुवा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बौवालाल मेहताले नगरवाशीहरुलाई नगरभित्र भएगरेका योजनाहरुको जानकारी दिदै योजनाहरुमा नगरवाशीहरुलाई स्वामित्व ग्रहण गराउँदै जनप्रतिनिधिहरुलाई जबाफदेही बनाउन यस्ता कार्यक्रमले मद्दत गर्ने बिश्वास व्यक्त गरे ।