इनरुवा । प्रदेश नम्बर १ को नामाकरण गरिएको खुशियालीमा भोलि बिहिवार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
बुधबार बसेको प्रदेश सभाको बैठकले १ नम्बर प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेसँगै प्रदेशवाशीहरुलाई धन्यवाद ज्ञापन सहित भोलि बिहिवार प्रदेश सरकार (मन्त्रीपरिषद्)ले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहिलो प्रदेश सभाले नामको टुङ्गो लगाउन सकेको थिएन । अरु सबै ६ वटा प्रदेशले प्रदेशको नामकरण गर्दा प्रदेश १ भने नाम बिहिन भएको थियो ।
प्रदेश सभाको आज बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामकरण गरेको हो । योसँगै प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेशले नाम पाएको हो ।
प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको हो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित थिए ।
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।
प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका थिए ।
प्रदेशको स्थायी राजधानी भने प्रदेश सभाले पहिलो कार्यकालमै २०७६ वैशाख २३ गते विराटनगर तोकेको थियो ।
कोशी प्रदेश सभामा ९३ जना सांसद छन् । जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।
कोशी प्रदेश भित्र १४ जिल्ला, १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका छन् भने १ हजार १ सय ५७ वटा वडा रहेका छन् । यस प्रदेशको क्षेत्रफल २५ हजार ९ सय ५ वर्ग किलोमिटर रहेको छ ।