प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । एमालेले दर्ता गरेको प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनुभएको छ । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले समर्थन फिर्ता लिए पनि कांग्रेसले कोशी प्रदेश नामकै पक्षमा मतदान गर्ने बताउनुभयो ।
माओवादी केन्द्रले पनि कोशी प्रदेशकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्तरूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेश सभा सचिवालयमा अर्को प्रस्ताव दर्ता गराएका छन् ।
यी दुई वटा प्रस्ताव सदनमा पेस हुनेछन् । छ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एसका चार र जसपाका एक जना सांसद छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश सभाले नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।