सबै सरकारी निकायमा स्वदेशी उत्पादनमात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको परिपत्र

उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्न परिपत्र गरेको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले आज शुक्रवार एक परिपत्र जारी गर्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सार्वजनिक कार्यालयहरूलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो ।

परिपत्रअनुसार मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्यरूपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्नेछ । यस्तै सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेशनरी, फर्निचर, मेशिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  

सार्वजनिक खरिद नियमावलीअनुसार खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए पनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जनाएको छ । स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिने उल्लेख छ ।