सोनापुरमा खानेपानी ट्याङ्कीको नगरप्रमुख गच्छादारद्वारा शिलान्यास

चन्दन रौनियार, दुहबी ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ र ९ को संयुक्त सोनापुर खानेपानी उपभोक्ता समितिको खानेपानी ट्याङ्कीको सिलान्यास गरिएको छ । दुहबी नगरप्रमुख बेदनरायण गच्छादारले दुहबी ८ मा धार्मिक अनुष्ठानका साथ खानेपानी ट्याङ्कीको बिधिवत् शिलन्यास गरेका हुन् ।

सिलान्यास पछि बोल्दै गच्छादारले १ करोड ४४ लाख ९३ हजार ८ सय ४५ रुपैयामा निर्माण हुने पानी ट्याङ्कीले दुहबीका वडा नम्बर ८ र ९ का जनतालाई ठूलो राहत मिल्ने हुँदा तोकिएको १८ महिना भित्र निर्माण सम्पन्न गर्न सम्बन्धित् सरोकार, स्थानिय समुदायहरुमा ताकेता गर्न आग्रह गरेका छन् ।

१२ वटै वडामा खानेपानीको सहज ब्यावस्थापन गर्ने लक्ष्य लिएर आफू अगाडि बढेको भन्दै सोनापुरमा औधोगिक करिडोरले गर्दा पानीको माथिल्लो सतह सुक्दै जादा खानेपानीको समस्या भएको महशुस गरेरै पहिलो ट्याङ्की निर्माणको कार्य शुरु गरेको र दोश्रो पनि तत्कालै बन्नेमा बिस्वस्त रहन उनले आग्रह गरेका छन् ।

वडा नम्बर १०,११,१२ र ७ मा पनि खानेपानीको समस्या समाधान गर्न अहोरात्र खटेको जनाउदै गच्छदारले आफ्नै कार्यकालमा दुहबीका जनता काकाकुल मुक्त हुने बचनबद्दता ब्यक्त गरेका छन् । ५० किलोमिटर लिंक(रिङ) रोडको काम डिपिआर र सर्भेको काम भैरहेको र आगामी आर्थिक बर्षभित्र सडक निर्माण सुरु भैसक्ने बताउँदै उनले दुहबी ३ जेसिज मार्ग हुदै छाँताबेली, मालहट्टिदेखि रनिगाँउ छाताबेली, पँशुपती बिस्कुट हुदै सिस्वाटोल, बटेमारा, इटहरी जोड्ने सडक बन्ने हुँदा सबै स्थानीय नगरबासीले सेवासुविधा लिन सक्ने महसुस गर्दै समृद्ध दुहबी निर्माण अभियानमा दत्तचित्तले लागेको बताए ।

सोनापुर खानेपानी समितिका अध्यक्ष ओम थापाले २०७४ मा सोनापुर संयुक्त खानेपानी समिति गठन भै जग्गा ब्यावस्थापन, भवन निर्माण लगायतको कार्य भैसकेको र दुहबी नगरप्रमुख गच्छादारको सहयोगबाट १ जना कार्यालय सहयोगी र सुरक्षा गार्ड समेत कार्यरत भएको जानकारी गराए । थापाले ४ लाख ५० हजार क्षमताका २ वटा बोरिङ्ग निर्माण हुने र सोनापुरबासीले सहज पानी आपूर्ति गर्न सक्ने बताउँदै उनले बिकास निर्माणमा राजनीति नगर्न अग्रह गरे ।

कार्यक्रममा पूर्व खानेपानी अध्यक्ष दीपक राई, दुहबी वडा नम्बर ८ का अध्यक्ष तारिकचन्द सरदार, वडा नम्बर ९ का अध्यक्ष मेहेदी हुसैन लगायतको उपस्थिति रहेको थियो ।