विराटनगर । प्रदेश १ मा उर्जा क्षेत्रमा भइरहेको लगानीको सुरक्षा र थप लगानी गर्ने वातावरण बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले प्रदेश नं. १ को दिगो विकासका लागि उर्जा भन्ने विषयमा विराटनगरमा आयोजना गरेको दुई दिने कार्यशालामा सहभागी विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले उर्जा क्षेत्रमा लगानी बढाए प्रदेश १ ले तीब्र समृद्धि हासिल गर्ने दाबी पनि गरे ।
कार्यशालामा विद्युत् आयोजना निर्माणमा हुने झण्झटिलो प्रक्रिया, स्थानीय अवरोध, ट्रान्समिसन लाइन निर्माणमा हुने अवरोध लगायतका विषयलाई स्थानीय, प्रदेश र संघ सरकारले हल गर्नुपर्नेमा लगानीकर्ताहरुले जोड दिए । अहिले पनि एउटा विद्युत् आयोजनाको लाइसेन्स लिएर आयोजनाको निर्माण सुरु गर्नै ७ देखि ८ वर्ष लाग्ने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
इपानका प्रदेश १ सचिव सोमनाथ कँडेलले क्षमता अनुसार प्रदेश १ मा विद्युत् आयोजनाहरु निर्माण भए अहिलेको केन्द्र सरकारको जम्मा बजेटको आकारको बजेट प्रदेश १ सरकारले नै ल्याउन सक्ने दाबी गरे । देशभरमा सबैभन्दा बढी प्रदेश १ मै उर्जा क्षेत्रको बढी सम्भावना भएको तथ्यांक प्रस्तुत गर्दै उनले ३४ हजार मेगावाट क्षमताका आयोजना बन्नसक्ने दाबी गरे ।
त्यसो भएको खण्डमा प्रदेश १ मा मात्रै रोयल्टीवापत वार्षिक १ अर्ब ३६ अर्ब आउन सक्ने बताए । इपानकै कार्यसमिति सदस्य प्रकाश दुलालले खोलामा पानी नभएर सुन बगिरहेको दाबी गर्दै तीनै तहका सरकारहरुले भरपूर क्षमता लगाएर विद्युत् क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यशालामा दिगो विकासका लागि उर्जा क्षेत्रको विकासबारे दुलालले प्रस्तुती दिएका थिए । यस्तै इपालका कार्यवहाक अध्यक्ष मोहनकुमार डाँडी, प्रदेश १ का जलस्रोत सिंचाई तथा उर्जा मन्त्रालयका सचिव नविनराज सिंह, इपालका पूर्व अध्यक्ष कुमार पाण्डे, इपानका लुम्बिनी प्रदेशका कोअर्डिनेटर कुबेरमणि नेपाल, जलविद्युत् क्षेत्रका विज्ञ तथा पत्रकार भीम गौतम लगायतले विद्युत् क्षेत्रको विकासको सम्भावना र चुनौतिको विषयमा प्रस्तुती दिएका थिए ।
बिहीबार र शुक्रबार दुईदिनसम्म चलेको उक्त कार्यक्रममा प्रदेश १ का दर्जनबढी सांसदहरु, उर्जा उत्पादकहरु तथा सरोकारवालाहरुको सहभागीता थिए ।