सूर्यकुण्ड प्रवर्द्धन नगरपालिकाको योजना, चतरा-सूर्यकुण्ड सडकको स्तरोन्नति सुरु

सुदन गुरागाई, बराहक्षेत्र ।

बराहक्षेत्र १ मा रहेको पर्यटकीय क्षेत्र सूर्यकुण्ड जोड्ने सडकको स्तरउन्नति गर्ने कार्य सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको पहलमा प्रदेश सरकार र सडक बिभागले सडक स्तरोन्नतिकोको काम सुरु गरेको हो ।

सुर्यकुण्डलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको र यसका लागि सडकलाई प्रथामिकतामा राखेको नगर प्रमुख कार्कीले बताए । सूर्यकुण्ड धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा हेरिन्छ ।

बराहक्षेत्र नगरपालिका वडा नं. २ देविथानदेखि सूर्यकुण्ड जोड्ने सडकमा वाल लगाउने तथा बाटो बिस्तार गर्ने कार्य भइरहेको वडा नं. १ का अध्यक्ष किसान थापा मगरले बताए । अहिले सडकलाई गुणस्तरीय बनाउन वाल र बाटोलाई फराकिलो बनाउने काम भइरहेको छ ।

सूर्यकुण्डलाई धरान र चतराबाट सडक सञ्जालले सहज रुपमा जोड्ने योजना अनुसार काम भइरहेको नगर प्रमुख कार्कीले बताए । सुर्यकुण्डको ऐतिहासिकता र महत्वको प्रवर्द्धन र स्थानीयहरुको जनजीविकालाई समेत प्रथामिकतामा राखेर काम भइरहेको नगर प्रमुख कार्कीले बताए ।

वरडाडा – चियावारि सडकको काम सुरु

सूर्यकुण्डलाई धरानबाट समेत सहज रुपमा जोड्ने कामले समेत तीब्रता पाएको छ । धरान – २० स्थित बिष्णुपादुकाबाट बराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित वरडाडादेखि चियाबारीसम्मको सडकको स्तरउन्तिको काम सुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त क्षेत्रलाई धरानबाट सहज रुपमा सडक सञ्जालले जोड्ने उदेश्य राखेर नगरपालिकाले प्रथामिकताका साथ काम अगाडि बढाइराखेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० सालको नगरपालिकाको १० लाख बजेटबाट उक्त सडकको स्तरउन्नतिको काम भइरहेको बताइएको छ । उपभोक्ता समिति मार्फत् निर्माण भइरहेको उक्त योजनाको नगर प्रमुख रमेश कार्की र वडा अध्यक्ष किसन मगरले स्थलगत अवलोकन गरेका छन् । सडकको कामलाई गुणस्तर बनाउन नगर प्रमुख कार्कीले उपभोक्ता समितिका अध्यक्ष गोबिन्द राईलाई निर्देशन दिएका छन् ।

वरडाडा, चियावारी, सुर्यकुण्ड लगायतका वडा नं. १ का पहाडि क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने योजना नगरपालिकाले लिएको नगर प्रमुख कार्कीले बताए । सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका कामलाई नगरपालिकाले प्रथामिकतामा राखेको र अन्य विकासको योजनाकालागि माथिल्लो सरकार, सरोकारवाला पक्षसँग समन्वय भइरहेको नगर प्रमुख कार्कीले बताए ।

सूर्यकुण्ड प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । उचित प्रचारप्रसार गरी यहाँ पुग्न सडक तथा अन्य पूर्वाधारको आवश्यक विकास गर्न सकेमा नगरले आर्थिक उपलब्धि हाँसिल गर्ने निश्चित छ ।