बेलका नगरपालिकाद्वारा भूमिहीनलाई धनिपूर्जा वितरण

उदयपुर जिल्लाको बेलका नगरपालिकाले भूमिहीनहरुलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । नगरपालिकाले शनिबार नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ को सदा वस्तीका ११ घर सदा परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि जग्गा धनीपूर्जा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा पहिलो चरण अन्तर्गत ११ घर परिवारलाई भोग चलन गर्दै आइरहेका जग्गा धनीहरुलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ ।

जग्गा धनी पुर्जा पाउनेहरुमा बेलका नगरपालिका वडा नम्बर ५ का जंगलु सदा, लक्ष्मण सदा, बद्री सदा, किसनु सदा, रामदेश सदा, श्याम कुमार सदा, रामसेवक मुसहर, नवराज सदा, रामबहादुर सदा, राजकुमार सदा र फिर्नी सदा छन् ।

बेलका नगरपालिकामा लगभग ७० प्रतिशत जग्गाको नगरवाशीले भोगचलन गर्दै आएको आफ्नो जग्गाको धनी पूर्जा छैन । अव्यवस्थित बसोबासीलाई व्यबस्थित गर्न यसअघिदेखि नै नगरपालिकाले प्रयास गर्दै आइरहेको थियो ।

वर्षौँदेखि भोगचलन गर्दै आइरहेको जग्गाको धनीपुर्जा नहुँदा स्थानीयहरुले विभिन्न समस्याहरु भोग्दै आइरहेका छन् भने नगरपालिकालाई कर संकलन गर्न समेत समस्या हुँदै आइरहेको छ ।

नगरपालिकाको पहलमा राष्ट्रिय भूमि आयोगबाट जग्गा धनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेकाहरुले नगरपालिकालाई धन्यवाद दिदै खुशी व्यक्त गरे ।

बेलका नगरपालिकाका निवर्तमान नगर प्रमुख दुर्गा कुमार थापा ‘स्वस्ती’ले बेलका नगरवाशीलाई जग्गाको मालिक बनाउन आफ्नो कार्यकालमा अहोरात्र खटेर काम गरेको स्मरण गर्दै केन्द्रको राजनीतिमा भएका उतारचढावले गर्दा समयमै नगरवाशीलाई जग्गाको मालिक बनाउन नसकिएता पनि आफ्नो कार्याकालमा गरेको मेहनतले अहिले परिणाम ल्याएकोमा खुशी लागेको बताए । नेपालमै पहिलो पटक एसटीडीएम सफ्टवेयरका माध्यमबाट आधुनिक प्रविधिको प्रयोग गरेर जीपीएस सिस्टम मार्फत् जग्गाको नापी सम्पन्न गरेको स्मरण गर्दै तत्कालीन अवस्थामा जग्गा नापी गर्न सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले बिगतमा भएका कामहरुको आधारमा जग्गाको धनी पूर्जा वितरण कार्यमा बेलकामा सन्तोसजनक गतिमा काम नभएको बताए । अन्य जिल्लामा धनीपुर्जा वितरण भइसक्दा बल्ल ११ घर परिवारलाई धनी पूर्जा वितरण हुनु सुखद संकेत नभएको उनको भनाइ थियो । ‘जुन स्पीडमा काम सम्पन्न हुनु पर्थ्यो त्यो स्पीडमा काम भएको देखिएन तर अहिलेको मेयरले जति हुटहुटी देखाइरहनु भएको छ त्यसकै परिणामत: कम्तिमा ११ जनाबाट भए पनि वितरणको प्रकृया शुरु भएको छ, सबैले धनीपूर्जा प्राप्त गर्ने गरी छिटो काम अगाडि बढाउनुहोस्’, उनले भने ।

‘जसरी फूटबल खेलमा जतिसुकै राम्रो खेल अरुले खेले पनि गोल गर्नेकै चर्चा हुन्छ र जसले गोल गर्छ उहीँ नै आधिकारिक रुपमा अब्बल खेलाडी मानिन्छ त्यसैगरी यो नगरपालिकामा पनि गोल गर्न सक्ने खेलाडी अहिलेका नगर प्रमुख अशोक कार्की नै हो तसर्थ उहाँ नै जग्गा धनी पूर्जा वितरण गराउन सफल फूटबलको मेस्सीझैँ खेलाडी हो’ उनले भने ।

कार्यक्रममा बोल्दै बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले अब बेलकाका कुनै जनता लालपूर्जा बिहीन भएर बस्नु नपर्ने दाबी गरे । उनले बेलाबेलामा संघीय सरकारले गर्ने अव्यबहारिक र अस्थिर निर्णयका कारण जग्गा धनी पूर्जा वितरणमा असर परिरहेता पनि अब चाडै नै सबै बेलकावाशीहरुलाई धनी पूर्जा वितरण गरिने बताए ।

२ हजार ५ सय दलित तथा सुकुम्बासी सहित १३ हजारको लगत संकलन गरी नगरपालिकाले नापी समेत गरिसकेकाले ती सबै नगरवाशीहरुलाई निरन्तर प्रकृया पूरा गर्दै जगा धनी पूर्जा वितरण गरिने उनले जानकारी दिए ।

कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, उदयपुर क्षेत्र १ ‘क’ का सांसद राजन किराँती, राष्ट्रिय भूमि आयोगका उदयपुर जिल्ला अध्यक्ष बलबहादुर तामाङ लगायतले बोलेका थिए ।

नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगर उपप्रमुख जीरा राईले राखेकी थिइन भने कार्यक्रमको संचालन नगरपालिकाको भूमि व्यबस्थापन शाखाकी शाखा प्रमुख मनिषा राईले गरेकी थिइन् ।