आमचोक गाउँपालिकामा अनलाइन मार्फत् भुक्तानी हुने

आमचोक । निरन्तर प्रविधिमा अपग्रेड हुँदै आइरहेको भोजपुरको दक्षिणी गाउँपालिका आमचोकले पालिका भित्रका आफ्ना सबै कर्मचारीहरुलाई अनलाइन मार्फत तलब भत्ता भुक्तानी गर्ने भएको छ । यस अघि नै विद्यालयका शिक्षक, कर्मचारी बाहेक अरु कर्मचारीहरुको इएफटी मार्फत तलब भुक्तानी गर्न थालेको पालिकाले अब विद्यालयका शिक्षक- कर्मचारीको समेत इएफटी(अनलाइन) बाट नै तलब भुक्तानी गर्ने व्यवस्था मिलाएसँगै आमचोक गाउँपालिका अब पूर्ण रुपमा अनलाइन विधि मार्फत तलब भत्ता खुवाउने पालिका बनेको हो ।

संघीयता कार्यान्वयन भएसँगै सदरमुकाम धाएर नगद पैसा बोकेर आउनुपर्ने जोखिमपूर्ण वाध्यता हटेपनि अझै पालिकाको केन्द्र पुगी स्थानीय बैंक सम्म धाउनुपर्ने बाध्यता पनि अब हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन कुमार राई बताउँछन् । अब पालिका भित्र कार्यरत सबै कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी सबैको इएफटी(अनलाइन) मार्फत नै तलब भत्ता भुक्तानी हुने उनको भनाइ छ ।

‘गा.पा.का अन्य सबै कर्मचारीहरूको अघिल्लो त्रैमासिकदेखि तलब भत्ता इएफटी(अनलाइन) मार्फत भुक्तानी सुरू गरिएको भए पनि शिक्षकहरूको बाकी रहेकोमा आजबाट सबै शिक्षक तथा कर्मचारीहरूको अब उपरान्त इएफटी(अनलाइन) मार्फत नै भुक्तानी हुनेछ’ गाउँपालिकाका लेखा शाखा प्रमुख बिनोद खत्रीले भने ।

बिगतमा टाढाटाढाबाट जिल्ला सदरमुकाम गएर विद्यालयका सबै शिक्षक कर्मचारीको तलब नगद बोकेर ल्याउँदा हुने जोखिम शिक्षा क्षेत्र पालिका मातहतमा आएसँगै कम भएकोमा अब अनलाइन मार्फत तलब भत्ता प्राप्त गर्दा जोखिम मात्र कम भएको नभइ समयको पनि बचत भएको बताउँछन् गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञान बहादुर राउत ।

गाउँपालिकाले इएफटी(अनलाइन) मार्फत् तलब भुक्तानी गर्ने भएपछि सरोकारवालाले समेत खुशी व्यक्त गरेका छन् ।