स्वर्णिम साहित्य समाजले “स्कुलमा कविता”कार्यक्रमको अडिसन गर्ने


बराहक्षेत्र । स्वर्णिम साहित्य समाजले बराहक्षेत्र नगरपालिकाभरि रहेका विद्यालयहरुबाट नव लेखन प्रतिभा खोज्ने उद्देश्यका साथ “स्कुलमा कविता” आयोजना गर्ने भएको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम गर्ने जनाएको हो ।

बराहक्षेत्र नगरपालिका भित्र रहेका माध्यमिक तहका विद्यार्थीहरु बिच कविता प्रतियोगिता आयोजन गर्दै उत्कृष्ट ४ कविलाई आकर्षक पुरस्कार प्रदान गरेर आशाका किरणहरुलाई प्रोत्साहित गर्दै लेखनमा जिम्मेवारी बोध गराउने लक्ष्यका साथ वृहत् कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साविक गाविस भरि रहेका विद्यालयहरुलाई एक दिन अडिसनका रुपमा प्रतियोयोगिताको आयोजना गरिनेछ । बराहक्षेत्रमै यो नौलो प्रयोग हो । छनौट राउण्डबाट उत्कृष्ट १० कवि र कवितालाई फाइनल राउण्डमा छनोट गरेर उत्कृष्ट ४ कवि र कवितालाई विशेष पुरस्कार दिइनेछ । फाइनलको दिन देशकै प्रतिष्ठित कवि लेखकहरुलाई बराहक्षेत्रको पावनभूमिमा निम्त्याएर उत्कृष्ट ४जना कवि प्रतिभालाई आकर्षक पुरस्कार प्रदान समेत गर्ने संस्थाका सचिब लक्ष्मण कट्वालले जानकारी दिए ।

प्रथम हुनेले ट्रफि,मेडल ,प्रमाण पत्रसहित नगद रू १० हजार पाउनेछन् भने द्धितीय,तृतीय र सान्त्वना हुनेलाई मेडल,प्रमाण पत्रसहित जनही नगद रू २ हजार दिइनेछ ।

पहिलो चरणमा प्रत्येक साविक गा.वि.स. भरिका एक स्कुलमा कार्यक्रममा प्रतियोगिता गरिने र पहिलो चरणमा पूर्वमा कहलिएका कविको साथमा स्थानीय श्रष्टाहरुलाई निर्णायकको भूमिकामा राख्ने भएको छ। पहिलो चरणको निर्णायकका रुपमा पत्रकार सम्मेलनमै बराहक्षेत्रका स्थानिय कविहरु प्रलाह्द भट्टराई (पहरेदार),राजन इशारा र सविता फागो लिम्बूलाई घोषणा गरिएको छ। फाइनल राउण्डमा भने देशकै प्रतिष्ठित कविहरुलाई निर्णायक मण्डल बनाउने समाजले जनाएको छ ।

सिर्जनशील उमेरका विद्यार्थीहरु साहित्य सिर्जनासँग जोडिने, आफूमा रहेको कविता लेखनलाई परिमार्जित गर्दै लेखनलाई थप मजबुत बनाउने, कविता लेखनलाई जिम्मेवारी ठान्दै आफ्नो गाउँ समाजका निम्ति जनचेतनामुखी सिर्जना गर्न सक्ने र आगामि दिनमा बराहक्षेत्रलाई सर्जकहरुको क्षेत्रको रुपमा थप परिचित गराउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको सचिब कट्वालले बताए ।

कविता प्रतिभाको खोजी गर्दै ती प्रतिभाहरुलाई थप फलाउने फुलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका सचिव कटुवलले बताए ।