बराह आदर्श क्याम्पसमा विद्यार्थी संख्या कम हुँदै गएकोमा सरोकारवालाको चिन्ता

बराहक्षेत्र नगरपालिका वडा नं २ चतरास्थित बराह आदर्श क्याम्पस सञ्चालनको बिषयमा सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन् । भौतिक संरचना र आर्थिक रुपले सम्पन्न रहेको क्याम्पसमा बिद्यार्थीहरुको संङ्ख्या न्यून भएको भन्दै सरोकारवाला पक्षले चिन्ता ब्यक्त गरेका हुन् ।

२०६७ सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । आफ्नै भवन, चन्तादाताबाट संकलन भएको ६७ लाख रकमको अक्षय कोषबाट सञ्चालन र स्थानीय शिक्षाप्रेमी, संघ संस्थाबाट सहयोग भए पनि विद्यार्थीहरुको आकर्षण कम भएपछि क्याम्पस सञ्चालनमा नै समस्या हुन थालेको छ ।

शुक्रबार क्याम्पसले आयोजना गरेको १२औँ साधारण सभा तथा बार्षिक उत्सव कार्यक्रममा बोल्दै आदर्श माध्यमिक विद्यालयका पूर्व प्रध्यानाध्यापक ज्ञानबहादुर पाण्डेले बार्षिक रुपमा १/२ जनालाई छात्रवृत्ति दिन आफु इच्छुक भए पनि विद्यार्थी नै क्याम्पसमा भर्ना हुन नआउँदा दु:ख लागेको बताए । क्याम्पस सञ्चालनमा भौतिक संरचनादेखि जनशक्ति र आर्थिक स्रोत राम्रो भए पनि विद्यार्थी न्यून हुनको कारण खोजेर काम गर्नु पर्नेमा पाण्डेले जोड दिएका थिए ।

त्यस्तै आदर्श माध्यमिक विद्यालयकै पूर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराईले क्याम्पसलाई भावि पिढिको सम्पतीको रुपमा लिएर संरक्षणमा लाग्नु पर्नेमा जोड दिए । क्याम्पस स्थापना कालको स्मरण गर्दै भट्टराईले बिद्यार्थीहरुको रुचि अनुसार क्याम्पस व्यवस्थापन र प्रशाशनले काम गर्नुपर्ने बताए । क्याम्पसको स्थायित्वको लागि विद्यार्थी, अभिभाव, शिक्षक, सञ्चालक र सरोकारवाला पक्षहरु लागि पर्नु पर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले क्याम्पसको भौतिक संरचना लगाएतको काममा नगरपालिकाले सहयोग गर्ने बताए । स्थानीय विद्यार्थीहरुलाई स्थानीय क्याम्पसमै पढ्न आकर्षण गर्न क्याम्पस प्रशासन र समिति लागि पर्न आग्रह गर्दै नगर प्रमुख कार्कीले यसकालागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए । शिक्षा बिकास र सुधारको लागि आफूले पाउने भत्ता सुबिधा शिक्षामा लगाउने समेत उद्घोष गरेका कार्कीले समुन्नत , सुन्दर बराहक्षेत्र बनाउने योजनामा नगरपालिका लागि परेको बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख रमेश चौहानले बार्षिक प्रगति प्रतिबेदन तथा भाबि योजना प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालन समितिमा उपाध्यक्ष अमर कट्वालले स्वागत मनतब्य राख्दै क्याम्पसमा बिद्यार्थीको आकर्षण गराउन सबै सरोकारवाला पक्ष लाग्नु पर्ने बताए ।

सञ्चालक समितिका अध्यक्ष चन्द्र मगरले क्याम्पसमा बिद्यार्थीको आकर्षण कम हुनुको कारण खोज्नु पर्ने बताए । क्याम्पसमा एक जना स्थाई प्राध्यापक नियुक्तिको काम अगाडि बढेको बताउँदै मगरले क्याम्पसमा सबैको चासो र चिन्ता आवश्यक रहेको बताए ।

क्याम्पसले साधारण सभा तथा बार्षिक उत्सव कार्यक्रमको अवसरमा बिद्यालयमा छात्रवृत्ति स्थापना गर्ने चन्तादाताहरुलाई सम्मान समेत गरेको थियो । सोही अवसरमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी सबिना राउतलाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, स्थानिय समाज्सेवी कार्यक्रमको सञ्चालन सह-प्रध्यापक भेषराज घिमिरेले गरेका थिए ।