दुहबीमा मिसेस तीज प्रतियोगिता हुने

चन्दन रौनियार, दुहबी ।

सुनसरीको दुहबीमा नेपालीहरुको महान चाड हरितालिका तीजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ ओटै वाडाका महिलाहरुलाई लक्षित गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा दोस्रो संस्करणको मिसेस तीज २०७९ हुने भएको छ ।

संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तीज पर्वलाई बिकृति हुनबाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले दुहवी जेसीजले दुहबी नगरपालिकाका १२ वटै वडाका महिला दिदीबहीनीहरुलाई एउटै छातामुनी भेला गराई दोस्रो संस्करणको मिसेस तीज प्रतियोगिता २०७९ को आयोजना गर्ने दुहवी जेसीजका अध्यक्ष दिपेश राउतले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । प्रतियोगिता यहि भाद्र १४ गते हुने आयोजकले जानकारी दिएको छ ।

दुहवी वडा नं. ४ स्थित आफ्टर डार्क पार्टी प्यालेसको हलमा संचालन हुने उक्त प्रतियोगितामा ३५ जना महिलाहरुको सहभागिता रहने जेसीजका अध्यक्ष राउतले बताए । देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएता पनि उक्त प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको र तीज पर्वसँग सम्बन्धित यस प्रतियोगिताले धर्म संस्कृतिको महत्व बुझाउने अध्यक्ष राउतको दाबी छ ।

आयोजकले कार्यक्रमको दौरान सहभागीहरुलाई र्‍याम्प वाक, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम साथै व्यक्तित्व विकास तथा आत्मनिर्भर सम्बन्धि प्रशिक्षण दिई सकेको बताएको छ । आयोजकले आउने भाद्र १४ गते तीज पर्वका दिन सहभागी सम्पूर्ण महिलाहरुलाई उपहार दिनुका साथै प्रथम हुने प्रतियोगीलाई नगद रु.१६ हजार, द्धितिय हुने प्रतियोगीलाई नगद रु.११ हजार र तृतीय हुने प्रतियोगीलाई नगद रु. ८ हजार साथै विभिन्न सात विधा (उत्कृष्ट पहिरन, उत्कृष्ट मेकअप, उत्कृष्ट केश, उत्कृष्ट मुस्कान, उत्कृष्ट हिंडाइ, उत्कृष्ट अनुशासन, उत्कृष्ट व्यक्तित्व) मा उत्कृष्ट हुने प्रतियोगीलाई रु. २१ सय नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट हयाम्परले पुरस्कृत गर्ने बताए ।

आयोजकले सहभागीहरुलाई प्रश्न उत्तरको माध्यमबाट छ्नौट गर्ने बताएको छ । शनिबार दुहबी जेसिजको भबनमा गरिएको पत्रकार सम्मेलनमा मिसेज तीज २०७९ कार्यक्रमका लागि ५ लाख खर्च हुने र यसकालागि दुहबी नगरपालिकाको कार्यालय र स्थानीय संघ संस्था लगायतको सहयोगमा खर्च जुटाइने जानकारी दिइयो ।