साउन महिनामा मात्रै झन्डै २ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालबाट करिब २ अर्बको बिजुली भारत निर्यात भएको छ ।

विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा नै १ अर्ब ८३ करोड रुपैयाँ बढीको विद्युत निर्यात गरेको हो । प्राधिकरणले साउनमा मुलुकभित्र खपत गरी बढी भएको २४ करोड २७ लाख बराबर युनिट विद्युत भारततर्फ निर्यात गरेको जनाएको हो ।

प्रााधिकरणले वर्षायामको अतिरिक्त विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ । गत आर्थिक बर्ष प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरेको थियो ।

विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै मुलुकको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको प्राधिकरणको भनाई छ । यस्तै, प्राधिकरणले देशभित्र थप १ सय ११ मेगावाट विद्युत बिक्रीको प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने प्राधिकरणले जनाएको छ ।