पेट्राेलियम पदार्थकाे मूल्य घटेर आएकाे भए पनि समायाेजन गर्न सक्दैनाैँ : निगम

काठमाण्डाै । नेपाल आयल निगमले अहिलेलाई पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने बताएको छ । निगमले विज्ञप्ति निकालेर भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि अझै घाटामै रहने भन्दै मूल्य समायोजन नगर्ने बताएको हो ।

निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ । गएकाे साेमवार भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आएको थियो ।

मूल्य घटेर आएपछि अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा रहेको तर डिजलमा नाै रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।