विद्युतिय प्राविधिकलाई नि:शुल्क क्षमता अभिवृद्धि तालिम दिइने

0
282

इटहरी ।

इटहरीमा केन्द्रिय कार्यालय रहेको नेपाल विद्युतिय प्राविधिक समूहले विद्युतिय प्राविधिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको थप क्षमता बृद्धि गर्ने उदेश्य राखी विभिन्न विषयमा नि:शुल्क सीपमूलक तालिम दिने भएको छ ।

प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतकाे दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम ( इन्सियोर) प्रोजेक्टको सहयोगमा समूहले काम गर्दै आएका प्राविधिकहरुलाई इथिकल ह्याकिङ, सि. सि. टी. भि. क्यामेरा जडान, एल सी डी, एल ई डी टेलिभिजन मर्मत तालिम, प्रिन्टर मर्मत सम्बन्धि १ महिने (९६ घन्टे) तालिम दिन लागेको हो ।

हाल उक्त तालिमको लागि आवेदन खुल्ला गरिएको र तालिम यहि फागुन ४ गतेदेखि सुचारु हुने समूहका केन्द्रीय अध्यक्ष यज्ञराज दाहाल(नवराज)ले जानकारी दिएका छन्।

दमकमा १ सय जना, उर्लाबारी ४० र इटहरीमा ६० गरी जम्मा २ सय जना प्राविधिकहरुलाई क्षमता अभिबृद्धि तालिम दिइने समूहका अध्यक्ष दाहालले बताए ।

उकत सीपमुलक तालिम लिन चाहानेले आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, दुईप्रति पासफोटो र आफू कार्यरत संस्थाको प्राविधिकको प्रमाण खुल्ने कागजात संलग्न गरि सिफारीस सहित आवेदन दिन पाउने प्रावधान रहेगरीसमेत उनले जानकारी दिए ।

नेपाल विद्युतिय प्राविधिक समूह आ–आफूमा भएको सीपलाई आदान प्रदान गर्ने उदेश्यले स्थापना भएको संस्था हो । संस्थाले स्थापना भए यता रक्तदान कार्यक्रम, दीर्घरोगीहरुलाई सहयोग, लकडाउनमा विपन्न वर्गलाई राहत वितरण जस्ता सामाजिक कार्य गर्दै आएको छ ।