कर्णालीमा नवनियुक्त ५ मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आज आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गाेपनीयताकाे शपथ लिए ।  

कर्णालीमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि थप पाँच मन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि दुई मन्त्री नियुक्त भइसकेका थिए । आज कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवाद पार्टीबाट एक मन्त्री थपिएका हुन् ।  

कांग्रेसबाट यज्ञबहादुर बुढा सामाजिक विकास मन्त्री, र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएकाे हाे । यस्तै माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा र गैरसांसद छिरिङ डम्डुल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएकाे हाे । एकीकृत समाजवादीका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्नुभएकाे हाे । 

यसअघि आजै मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच मन्त्रीको नाम प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएकाे थियाे ।