बन्द भएको दुई महिनापछि कोदारी राजमार्ग एकतर्फी खुल्यो

गएको असार १ गतेको बाढी, पहिरोले कटान गरेपछि बन्द रहेको सिन्धुपाल्चोकको कोदारी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । लिपिङ पुलको दुवैतर्फको जग ढुङ्गाले भर्नुको साथै अरु ठाउँमा भत्किएको सडक मर्मत गरेर सडक एकतर्फी सञ्चालनमा ल्याइएको चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनियर विजय महतोले जानकारी दिनुभयो ।

दशैंको समयमा चीनबाट आयात हुने सामान ढुवानीका लागि नाका सञ्चालन हुन सक्ने भएकोले बाटो मर्मतको कामलाई पनि तीव्रता दिएको उहाँले बताउनुभयो ।

गएको जेठ ३० गतेपछि बाढी तथा पहिरोले देशका विभिन्न राजमार्ग तथा मुख्य सडकको एक सय ७३ ठाउँमा बन्द भएकोमा ५७ ठाउँको सडक पूर्ववत् अवस्थामा सञ्चालन भैसकेको छ । एक सय ६ ठाउँको अवरोध हटाएर सडक एकतर्फी सञ्चालनमा रहेको र १० ठाउँमा अझै बन्द रहेको सडक विभागले जनाएको छ ।

मनाङ जोड्ने डुम्रे–बेशीँसहर–चामे सडक ६ ठाउँमा बन्द छ भने अरनिको राजमार्ग दुई ठाउँमा बन्द छ । यस्तै गल्छी–रसुवागढी सडक अन्तर्गत रसुवा र नुवाकोटमा एक–एक ठाउँमा सडक बन्द छ ।